Spread the love

काठमाडौँ । विपिन खत्रीको यादगार प्रदर्शनमा गण्डकी प्रदेशले आइतबार प्रधानमन्त्री कप पुरुष एक दिवसीय क्रिकेट प्रतियोगितामा कोसी प्रदेशमाथि रबाफिलो जित निकालेको छ।

मूल पानी क्रिकेट मैदानमा विपिन ब्याटिङ र बलिङ दुवैमा चम्केपछि कोसीले लज्जापूर्ण हार बेहोर्‍यो। विपिनले ४२ रनका साथै ६ विकेट लिँदै यादगार प्रदर्शन गरे।

खराब ब्याटिङ गरेको गण्डकीले दिएको एक सय ६७ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा कोसी १५.२ ओभरमा २५ रनमै समेटिन पुग्यो। यससँगै कोसीले जारी प्रतियोगितामा छैटौं हार सामना गर्नुपर्‍यो। कोसीका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। कप्तान अंकित सुबेदीको ८ रन नै सर्वाधिक व्यक्तिगत स्कोर रह्यो।

उनले ६ बल खेल्दा दुई चौका प्रहार गरे। त्यसबाहेक कुनै पनि ब्याटरले बाउन्ड्री प्रहार गर्न सकेनन्। गण्डकीको बलिङसामू कोसी निरिह बन्यो। विपिन सात ओभरमा तीन मेडन राख्दै ४ रन मात्र खर्चिए।

सन्दीप पराजुलीले तीन र अंकित न्यौपानले एक विकेट विपिनलाई साथ दिएपछि कोसीको इनिङ धराशयी बन्यो। त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको गण्डकीको पनि सुरुआत निकै खराब रह्यो। गण्डकी ४८.२ ओभरमा एक सय ६७ रनमै अलआउट भयो। मुस्कान थापाबाहेक शीर्ष पाँच ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

त्यससँगै गण्डकी २१.६ ओभरमा ७३/६ को अवस्थामा पुग्यो। तर, मुस्कान र विपिनले इनिङ समाले। मुस्कानले १२२ बलमा सात चौकासहित ६७ रन जोडे। आठौं नम्बरमा ब्याटिङ गर्न आएका विपिनले ४२ रन जोड्दै इनिङ उकासे।

उनले ७१ बलमा पाँच चौका र एक छक्का प्रहार गरे। कमल परियारले १३ रन जोडे। त्यसबाहेक गण्डकीका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्। यद्यपि, बलिङमा साथ पाउँदा गण्डकीलाई जित निकाल्ने त्यो योगफल पनि पर्याप्त भयो। कोसीको बलिङमा अभ्यास तिमिल्सिनाले ६ विकेट लिए।

फिर्दोस अन्सारी, कमल खत्री र सोनु मण्डलले थप एक विकेट लिँदा गण्डकी सामान्य योगफलमा समेटियो। तर, ब्याटिङमा भने कोसीले राम्रो गर्न सकेन र छैटौं हार सामना ग¥यो। गण्डकीले भने चौथो खेलमा पहिलो जित निकाल्यो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0