Spread the love

काठमाडौं । बुक बिल्डिङ विधिबाट संस्थागत लगानीकर्ताहरुले आइतबारसम्म रिलायन्स स्पिनिङ मिल्सको प्राथमिक सेयर (आईपीओ)मा आवेदन दिने छन् । बुधबारदेखि संस्थागत लगानीकर्तालाई शिलबन्दी बोलपत्र आवेदन खुलेको हो ।

कम्पनीले जारी पूँजी १ अर्ब ९० करोड रुपैयाँको १०.१४ प्रतिशत अर्थात् १९ लाख २६ हजार ६ सय कित्ता साधारण सेयर जारी गर्नेछ । जसमध्ये ७ लाख ७० हजार ६४० कित्ता सेयर पहिलो चरणमा संस्थागत लगानीकर्ताका लागि बिक्री गर्ने भएको हो ।

बाँकी ११ लाख ५५ हजार ९६० कित्ता सेयर पछि वैदेशिक रोजगारमा गएका नेपाली, प्रभावित क्षेत्रका स्थानीय र सर्वसाधारणका लागि जारी हुनेछ । पहिलो चरणमा संस्थागत लगानीकर्ताले आज आइतबारसम्म नेपाल स्टक एक्स्चेन्जमा बोलकबोल आवेदन दिनेछन् ।

कति तोकिएला मूल्य ?
संस्थागत लगानीकर्ताले हाल्ने मूल्यले नै सर्वसाधारण लगानीकर्ताका लागि पनि मूल्य तय हुनेछ । संस्थागत लगानीकर्ताले न्यूनतम मूल्य प्रतिकित्ता ६०८ रुपैयाँदेखि अधिकतम मूल्य ९१२ रुपैयाँसम्मका लागि बोलकबोल गर्नेछन् ।

सोही बोलकबोलका आधारमा दिएको आवेदनका आधारमा कटअफ मूल्य तय हुनेछ । धेरै मूल्य दिएका आधारबाट संस्थागत लगानीकर्तालाई सेयर बाँडफाँट गर्दै जाँदा जुन विन्दुमा छुट्याएको सेयर संख्या सकिन्छ, त्यहीं विन्दु नै कट अफ  मूल्य हुन आउँछ । कटअफ मूल्यभन्दा माथि तोकेका संस्थागत लगानीकर्ताले पनि कट अफ मूल्यमै सेयर पाउनेछन् । त्यहीं कटअफ मूल्यको १० प्रतिशत न्यूनतम मूल्यमा सर्वसाधारणलाई सेयर जारी हुनेछ ।

यसअघि बुक बिल्डिङ विधिबाटै सर्वोत्तम सिमेन्टमा तोकिएको रेञ्जमा न्यूनतम दर नै ‘कटअफ प्राइस’ कायम भएको थियो । तसर्थ रिलायन्स स्पिनिङमा यदि न्यूनतम मूल्य ६०८ रुपैयाँ कटअफ प्राइस तय भएमा सर्वसाधारणलाई यस कम्पनीको आईपीओ मूल्य प्रतिकित्ता ५४७ रुपैयाँ २० पैसा पर्नेछ । यसको अर्थ सर्वसाधारणलाई यस कम्पनीमा प्रतिकित्ता ५४७ रुपैयाँ २० पैसाभन्दा कम मूल्य पर्ने छैन ।

सर्वसाधारणलाई न्यूनतम ४५७ रुपैयाँ २० पैसादेखि अधिकतम ८२० रुपैयाँ ८० पैसाको बीचमा मूल्य पर्न सक्नेछ । कट अफ मूल्य तय भएपछि मात्रै सर्वसाधारणलाई पर्ने वास्तविक मूल्य तय हुन्छ । अर्कोतर्फ बुक बिल्डिङ विधिबाट मूल्य तय भएको आईपीओमा सर्वसाधारणले आवेदन दिँदा न्यूनतम ५० कित्ताका लागि आवेदन दिनुपर्ने व्यवस्था छ ।

कस्तो छ कम्पनी ?

इटहरीमा यस कम्पनीको धागो कारखाना सञ्चालनमा छ । कम्पनीले सो धागो देशभरका विभिन्न कपडा उद्योगहरुलाई बिक्री गर्ने तथा भारत लगायत तेस्रो मुलुकमा पनि निर्यात गर्ने गरेको जनाएको छ । गत असार मसान्तसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ २४८ रुपैयाँ ६७ पैसा छ । त्यस्तै प्रतिसेयर आम्दानी ५४ रुपैयाँ ३४ पैसा र सञ्चित नाफा ५ अर्ब ६३ करोड रुपैयाँ रहेको विवरणपत्रमा उल्लेख छ । साधारण लगानी फिर्ता हुने अवधि ६.८८ वर्ष प्रक्षेपण गरिएको छ । कम्पनीका अध्यक्ष पवनकुमार गोल्यान हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
6
+1
0
+1
0
+1
0
+1
0