Spread the love

काठमाडौं । सात महिनादेखिका कार्यवाहक महालेखापरीक्षक महेश्वर काफ्ले उमेर हदका कारण अवकाशमा जानु एक दिनअघि ११ माघमा लेखा उत्तरदायी अधिकृतहरुका लागि ६ बुँदे निर्देशन जारी गरे । निर्देशनको अन्तिममा उनले नेपाल सरकारका मुख्य सचिव डा. बैकुण्ठ अर्याललाई दिएको बोधार्थमा लेखे, ‘उपर्युक्त बमोजिम बेरुजु फर्छ्योट र सम्परीक्षणसम्बन्धी व्यवस्था मिलाउनुहुन आवश्यक निर्देशन दिनुहुन अनुरोध ।’

उत्तरदायी लेखा अधिकृत र लेखापरीक्षकहरुलाई दिएको निर्देशनमा काफ्लेले लेखालाई नियमित गर्न, बेरुजुको लगत अद्यावधिक गर्न, असुलउपर भएको तथा पेश्की फर्छ्योट भएको रकमको अभिलेख, स्रेस्ता परीक्षण गर्ने व्यवस्था गर्न, वित्तीय अनुशासन कायम गर्न तथा आचरण र कार्यशैलीमा परिवर्तन गर्न भनिएको छ ।

काफ्लेले अवकाश हुनुअघि निर्देशन दिनुको अर्थ बेरुजु फर्छ्योटमा भइरहेको अलमल र लेखापरीक्षणमा देखिएको बेथिति रोक्न प्रधानमन्त्री कार्यालयको ध्यानाकर्षण गराउनु रहेको महालेखापरीक्षक कार्यालयका एक अधिकारी बताउँछन् । ‘महालेखापरीक्षकको कार्यालयलाई निमित्तका भरमा चलाइरहने सरकारी सोचले समस्या ल्याउन सक्नेतर्फ सचेत गराउन खोजिएको जस्तो देखिन्छ’, ती अधिकारी भन्छन्, ‘लेखा उत्तरदायी अधिकृतहरुले कतिपय निर्णयहरु समयमै नलिंदा बेरुजु फर्छ्योट रोकिएको छ, यसमा घुमाउरो शैलीमा सन्देश दिएको देखिन्छ ।’

मन्त्रालय र निकायहरुमा सचिव नै लेखा उत्तरदायी अधिकारीका रुपमा रहन्छन् । उनीहरु जिम्मेवार नबन्दा पनि लेखापरीक्षण र त्यसपछिका प्रक्रियामा महालेखाको भूमिका कमजोर बन्न पुगेको छ । यस्तो अवस्थामा सरकारी खर्चको लेखापरीक्षण गर्ने संवैधानिक निकाय महालेखा परीक्षकको कार्यालय ९ महिनादेखि कार्यवाहकका भरमा चलिरहेको छ ।

७ जेठ २०८० मा टंकमणि शर्माको पदावधि सकिएपछि उपमहालेखापरीक्षक राममाया कुँवरले २२ साउन २०८० सम्म निमित्त महालेखापरीक्षक भएर काम गरिन् । त्यसपछि ११ माघसम्म महेश्वर काफ्लेले कार्यवाहक भएर काम गरे भने १३ माघयता बासुदेव शर्मा अधिकारी कार्यवाहक महालेखापरीक्षक छन् ।

महालेखापरीक्षक नियुक्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषदको बैठक बोलाएका छैनन् । उनको उदाशिनताले महालेखापरीक्षकको कार्यालयले दैनिक काम समेत प्रभावकारी ढंगले गर्न सकिरहेको छैन ।

कार्यवाहकको भरमा महालेखापरीक्षकको कार्यालय चलिरहँदा सरकारी निकायमा आर्थिक सुशासनको निगरानी नै कमजोर बनेको छ । गत १० पुसमा सरकारको एक वर्षको समीक्षा सुनाउँदै प्रधामनन्त्री पुष्पकमल दाहाल प्रचण्डले संकल्प बमोजिम सुशासनका लागि केही कामहरु गरे पनि केन्दि्रत हुन नसकेको स्वीकार गरेका थिए । ‘मैले संसदमा सुरुकै दिन गरेको संकल्प थियो, सुशासन । अब सुशासनमा रहेका समस्या समाधान गर्न लाग्ने निष्कर्षमा छु’, उनले भनेका थिए ।

तर, महालेखापरीक्षकजस्ता निकायमा नेतृत्व दिन नसक्नुले प्रधानमन्त्रीले नै सुशासनलाई कमजोर बनाइरहेको प्रष्ट हुने पूर्वप्रशासकहरु बताउँछन् ।

पूर्वसचिव तथा लोकसेवा आयोगका पूर्वअध्यक्ष उमेश मैनाली सुशासनका लागि निगरानी गरिरहनुपर्ने संवैधानिक निकायलाई नेतृत्वविहीन राख्दा सरकारी संयन्त्रहरु झन् शिथिल र कमजोर बन्ने टिप्पणी गर्छन् । ‘सहीसँग काम भयो कि भएन र करको असुली तथा उपयोग ठीक ढंगले गरियो कि गरिएन भनेर हेर्ने निकायलाई नेतृत्व नदिई राख्दा सुशासनको अवस्था झन् कमजोर हुन्छ’, उनले भने ।

कार्यवाहक नेतृत्वले पूर्ण जिम्मेवारी र जोखिम लिएर निर्णय नगर्ने भएकाले महालेखापरीक्षक नियुक्तिमा अलमल गर्न नहुने उनको भनाइ छ ।

पूर्वअर्थसचिव रामेश्वर खनाल संसदको सार्वजनिक लेखा समितिले सम्परीक्षण रोक्ने गरी आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनको गलत व्याख्या गरेर पत्र लेख्दा समेत महालेखा परीक्षकको कार्यालयले प्रतिवाद गर्न नसक्नुमा नेतृत्वकै अभाव नै प्रमुख कारण भएको बताउँछन् ।

महालेखाको वाषिर्क प्रतिवेदनमा औंल्याइएको बेरुजुको सम्परीक्षण गरेर फर्छ्योट गर्ने अधिकार अहिले लेखा समितिले आफूसँग मात्रै भएको बताउँदै आएको छ ।

सार्वजनिक लेखा समितिले सम्परीक्षणका लागि छलफल गरेर दिएको सुझाव तथा निर्देशनका आधारमा मात्रै सम्बन्धित मन्त्रालय र निकायका लेखा उत्तरदायी अधिकारीले पत्र लेखेपछि मात्रै महालेखाको सम्परीक्षण सम्पन्न हुने संसदीय समितिको तर्क छ । यसका कारण महालेखा परीक्षकको कार्यालय विगतमा सोझै गर्दै आएको सम्परीक्षण रोकिन पुगेको छ । ‘संवैधानिक हैसियत प्राप्त महालेखा परीक्षक भए संसदको सभामुख र लेखा समितिमै गएर कुरा गर्थे होलान्’, पूर्वसचिव खनाल भन्छन्, ‘कार्यवाहक नेतृत्व सज्जन नै भए पनि संसदमा स्पष्ट तर्कसहित कुरा राख्न जान सक्दैनन् ।’

संगठित संस्थाको लेखापरीक्षण गर्दा अपनाउनुपर्ने सिद्धान्तको सम्बन्धमा महालेखापरीक्षकले आवश्यक निर्देशन दिन सक्छ । महालेखापरीक्षकको कार्यालयले लेखा परीक्षणका लागि लेखासम्बन्धी कागजपत्र जुनसुकै बेलामा हेर्न पाउने अधिकार पनि राख्छ । तर, नेतृत्वविहीनताले महालेखा आफ्नो भूमिकामा खरो उत्रिन सकेको छैन

जोखिम लिएर काम गर्दा अरु निकायसँग जुध्नुपर्ने र भविष्यमा पाइने अवसर समेत गुम्ने डर हुनाले कार्यवाहक नेतृत्वले जोखिम लिन नचाहने खनाल बताउँछन् । ‘संवैधानिक नियुक्ति लिएका महालेखापरीक्षक नहुँदा महालेखापरीक्षक कार्यालयको अस्तित्व नै कमजोर भएर जान्छ’, उनी भन्छन्, ‘तल कर्मचारीले राम्रोसँग र समयमै काम नगर्नेदेखि लेखापरीक्षणको गुणस्तर पनि खस्किएर जाने समेत हुन्छ ।’

लेखापरीक्षण अधिकारीहरु पनि महालेखापरीक्षककको कार्यालय अहिले दिशाहीनजस्तो बनेको टिप्पणी गर्छन् । संसदको लेखा समितिले संघीय सरकारको बेरुजुको सम्परीक्षण रोकेर राख्दा कार्यालयको तर्फबाट उचित पहलकदमी लिन नेतृत्व अघि नसरेको उनीहरुको दाबी छ ।

सरकार र संसदीय समितिले आफ्नो भूमिका निर्वाह नगर्दा महालेखापरीक्षकको कार्यालय समेत निष्प्रभावी देखिएको उनीहरुको चिन्ता छ । ‘महालेखापरीक्षक भए उहाँले आफ्नो रणनीति र कार्ययोजना बनाउनुहुन्थ्यो, लक्ष्य निर्धारण गरेरै काम हुन्थ्यो, त्यसले नतिजा पनि दिन्थ्यो’, एक लेखापरीक्षण अधिकारीले भने, ‘अहिले कानुनले तोकेका नियमित काममा मात्रै महालेखापरीक्षकको कार्यालय खुम्चिन पुग्यो ।’ कम्तीमा सरकारबाट संवैधानिक व्यवस्थाको पालना भए मात्र पनि यस्तो अवस्था नआउने उनको टिप्पणी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
4
+1
0
+1
0
+1
0
+1
0