काठमाडौं । बेगनास आफैमा चित्रमय भूगोल हो । ताल, हिउँचुचुरा, पाखापखेरु र वनवाटिकाले बेगनास क्षेत्र सज्जित छ । प्रकृतिका अनेक वैभवले पूर्ण छ बगेनास । तीमध्ये एक हो बेगनास तालको पूर्वी किनारछेउ चिटिक्क मिलेको बस्ती माझीकुना ।१५ वर्षअघिसम्म निर्जन चौर र वनपाखाले ढाकिएको माझीकुना अहिले पर्यटक तान्ने थलो बनेको छ ।
बस्ती बस्नुपूर्व माझीकुना चलचित्र छायाँकन र पर्यटकको ‘क्याम्पिङ’स्थलका रूपमा मात्र चिनिन्थ्यो । अहिले माझीकुनाको परिचय बदलिएको छ, फैलिएको छ । माझीकुनालाई माछाले जति अरु चीजले सायदै चिनाएको मान्नुहुन्छ, स्थानीय रेष्टुराँ व्यवसायी टेकबहादुर जलारी ।
‘माझीकुनाले बढी चर्चा पाएको यस्तै पाँच/छ वर्षजति भयो”, ५२ वर्षीय जलारीले भने, ‘मुख्य रुपमा यहाँको पोलेको माछा ग्राहक र पर्यटकमाझ प्रख्यात छ ।’युट्युब, फेसबुक, टिकटकजस्ता सामाजिक सञ्जालका माध्यमबाट पनि माझीकुनाको व्यापक प्रचार भएको उनले बताए ।
माझीकुनाको पोलेको माछा र अरु परिकारबारे नेपाली खाना प्रवर्द्धन गर्ने टिकटिक प्रयोगकर्ताले बनाएका भिडिओ सामग्री अहिले पनि सामाजिक सञ्जालतिर भेटिन्छन् ।विशेषगरी आन्तरिक पर्यटक त्यसमा पनि युवा पुस्तामाझ माझीकुना माछाका परिकारको स्वादसँगै घुमफिर गर्ने गन्तव्यका रूपमा लोकप्रिय बनेको हो ।
‘यहाँ धेरै आउने भनेको आन्तरिक पर्यटक नै हो, पर्यटकीय याममा विदेशी पाहुना पनि आइरहनुहुन्छ’, दी फिसरम्यान रेष्टुराँका सञ्चालक जलारीले भने, ‘चाडबाड, नयाँ वर्ष र बिदाका समयमा त पर्यटकको भीड नै लाग्छ, रेष्टुराँमा भ्याइनभ्याइ हुन्छ ।’ जलारीले विसं २०७२ को गोरखा भूकम्पपछि रेष्टुराँ व्यवसाय थालेका थिए ।
उनको रेष्टुराँमा पनि पोलेको माछा नै मुख्य परिकार हो । तिलापिया जातको माछालाई आगोमा पोलेर स्थानीय स्वादमा पाहुनालाई चखाउने गरेको जलारीले सुनाए । ‘मरमसला, च्याउ, धनिया, लसुन आदि राखेर मेरिनेट गरिएको माछालाई आगोमा सेकेपछि परिकार तयार हुन्छ’, उनले भने, ‘पाहुनाले पोलेको माछा नै बढी रुचाउनुहुन्छ ।’