घोराही। राप्ती गाउँपालिका–७, छोडकी सिसहनिया निवासी विद्याबहादुर चौधरीले विगत चार वर्षदेखि केरा खेती गर्दै आउनुभएको छ । तीन बिघा जग्गा भाडामा लिएर व्यावसायिक केरा खेतीमा लागेका चौधरी वार्षिक १३/१४ लाख बराबरको केरा बिक्री गर्दै आएको बताउनुहुन्छ ।
खेती गरेको तीन बिघामध्ये अहिले डेढ बिघा जग्गामा रोपेको केराले उत्पादन दिने गरेको भन्दै चौधरीले भन्नुभयो, “अहिले खेती गरेकोमध्ये आधा जमिनमा रोपेको केराले उत्पादन दिन थालेको छ । बाँकी बोटहरू पनि उत्पादन दिन तयार हुँदै छन् ।”
करिब एक दशक गाडी चालकको काम गर्नुभएका चौधरीले केरा खेती गर्नका लागि दुई वर्ष नवलपरासीमा केरा खेती गर्ने व्यवसायीकोमा काम गर्नुभएको थियो । त्यहीँ सिकेर उहाँले आफ्नो खेती सुरु गर्नुभएको हो ।
राप्ती गाउँपालिका–७ निवासी रणप्रसाद सुवेदीले पाँच बिघा जमिनमा व्यावसायिक केरा खेती गर्दै आउनुभएको छ । अन्य कृषि बाली जस्तो मेहनत गर्न नपर्ने र आम्दानी पनि राम्रो हुने भएपछि विगत दुई वर्षदेखि व्यावसायिक केरा खेती गर्दै आएको सुवेदी बताउनुहुन्छ । राप्ती केरा प्रवर्धन कृषक समूहका अध्यक्षसमेत रहनुभएका सुवेदीले व्यावसायिक केरा खेतीबाट आम्दानी पनि हुने बिक्रीका लागि समस्या नहुने भएपछि यो वर्ष थप आठ बिघा जमिनमा केरा खेती विस्तार गर्न थालेको बताउनुभयो ।
एक पटक रोपेपछि धेरै पटक आम्दानी लिन सकिने र अरू कृषि बाली जस्तो दुःख नहुने भएपछि दुई जना मिलेर यो वर्ष थप आठ बिघामा केरा खेती उहाँले थप गर्न लाग्नुभएको हो ।
सिसहनियाकै अर्का किसान तीर्थराज ज्ञवालीले पाँच कट्ठामा दुई सय वटा केराको बोटबाट व्यावसायिक केरा खेती सुरु गर्नुभएको थियो । उहाँले पनि अहिले दुई बिघा १० कट्ठामा केरा खेती गर्दै आउनुभएको छ ।
केरा खेतीका लागि देउखुरीमा माटोसँगै सिँचाइको व्यवस्था भएको र थोरै खेतीबाट पनि राम्रो आम्दानी लिन सकिने भएपछि पछिल्लो समय जिल्लामा केरा खेती गर्ने किसान बढ्न थालेको कृषि ज्ञान केन्द्र दाङका कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले बताउनुभयो ।
उहाँका अनुसार जिल्लामा ५३० हेक्टर जमिनमा व्यावसायिक केरा खेती हुने गरेको छ । जसबाट वार्षिक ४३४ मेट्रिक टन उत्पादन हुने गरेको बताउनुभयो ।