Spread the love

facebook sharing button
twitter sharing button
messenger sharing button
sharethis sharing button

काठमाडौं- प्रतिनिधि सभाको बैठक आज बस्दैछ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण प्रतिनिधि सभाको शुक्रबारको बैठक स्थगित भएको थियो ।

स्वार्थ जोडिएको मन्त्रालयमा मन्त्रीलाई जिम्मेवारी दिएको विषयमा प्रधानमन्त्रीको जवाफ माग गर्दै कांग्रेसले प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेको थियो ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको भन्दै यस विषयमा प्रधानमन्त्रीबाट जवाफ नआएसम्म गृहमन्त्रीले अगाडि बढाउने कार्यसूचीलाई सहयोग नगर्ने भन्दै कांग्रेसले अवरोध गरेको हो ।

शुक्रबार उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछानेले ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो । तर संघीय संसद सचिवालयले आजको बैठकका लागि सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा सो विषय समावेश छैन ।

आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले राष्ट्रिय सभामा उत्पत्ति भएको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यलय, २०८० माथि विचार गरियोस् भनी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ ।

आजको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल जारी रहने पनि संघीय संसद सचिवालयले जनाएको छ ।

शुक्रबारको बैठकमा कांग्रेस सांसद रमेश लेखकले प्रतिपक्षी दलले पटक-पटक उठाएका प्रश्नको जवाफ प्रधानमन्त्रीबाट नआएको भन्दै सभामुखको ध्यानाकर्षण गराउनुभएको थियो ।

प्रधानमन्त्रीको जवाफ नआएसम्म उपप्रधानमन्त्री तथा गृहमन्त्रीले संसदमा राख्नुहुने प्रस्तावमाथि छलफल गर्न नसकिने बताउँदै उहाँले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको कार्यसूचीमा भने अवरोध नगर्ने बताउनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
6
+1
0
+1
0
+1
0
+1
0