काठमाडौं- विशेष अदालतले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा भ्रष्टाचार भएको ठहर गरेको छ । अख्तियारद्वारा दायर मुद्दामा फैसला सुनाउँदै सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई २ वर्ष कैद सजाय सुनाएको छ ।
विशेष अदालतका अध्यक्ष टेकबहादुर कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले २५ करोड ४७ लाख रूपैयाँ असुलउपर गर्नुपर्ने पनि ठहर गरेको छ । निर्देशक विकलले सम्झौताविपरुीत गुणस्तरहीन विद्युतीय ट्रान्सफरमर खरिद गरेको प्रमाणबाट पुष्टि भएको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिनुभयो ।
खरिद सम्झौता बमोजिम मर्मत नगरी झूटो बिलको आधारमा भुक्तानी दिएको पनि विशेष अदालतको ठहर छ । विकलमाथि अमेरिकाको पीआर लिएर त्यसबारेको विवरण लुकाइ नेपालमा नियुक्ति लिएको साथै अकुत सम्पत्ति आर्जनको दुई मुद्दा विचाराधीन छ ।
उक्त मुद्दामा नवीनकुमार ६ महिना कैद र ५ करोड ८४ लाखभन्दा बढी जरिवाना तोकिएको छ । रोहितमान प्रधानलाई पनि ५ करोड ८४ लाख बढी विगो असुल गर्नुपर्ने फैसला गरिएको छ । विशेष अदालतले परामर्शदाता भुवन महर्जनबाट ५ करोड ७९ लाख ६२ हजार १३५ रूपैयाँ जरिवाना तोकेको छ ।
प्रतिवादी बनाइएका रमेशप्रसाद पोखरेल, मनिकमान महर्जन, शिरिष उपाध्याय, रामबहादुर बुढा र मीनलाल गुरौंलाई सफाइ दिइएको छ ।