श्रावण १५, काठमाडौं । सरकारले विभिन्न १९ देशका लागि नेपाली राजदूत नियुक्ति गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले छिमेकी देशहरू भारत र चीनसहित विभिन्न १९ मुलुकका लागि राजदूतको नाम सिफारिस गर्ने र केही देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो
दुई ठूला राजनीतिक दल नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धनपछि प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा बनेको नयाँ समीकरणपछि सरकारले अमेरिका, बेलायत, दक्षिण कोरिया, कतार, भारत, पाकिस्तान, दक्षिण अफ्रिका, रुस, चीन, डेनमार्क, पाकिस्तान, अस्ट्रेलिया, मलेसिया, साउदी अरब, इजरायल, जर्मनीका लागि नेपाली राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठकले मित्रराष्ट्र भारतका लागि अहिलेका राजदूत शंकर शर्मालाई नै निरन्तरता दिएको छ भने अमेरिकाका लागि पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
यसैगरी, अन्य देशहरू चीनका लागि कृष्णप्रसाद ओली, बेलायतका लागि चन्द्रप्रसाद घिमिरे, जर्मनीका लागि शैल रूपाखेती, साउदी अरबका लागि नरेशविक्रम ढकाल, इजरायलका लागि धनप्रसाद पण्डित र दक्षिण अफ्रिकाका लागि कपिलमान श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ । त्यसैगरी, दक्षिण कोरियाका लागि शिवमाया तुम्बाहाङ्फे, पोर्चुगलका लागि प्रकाशमणि पौडेल, पाकिस्तानका लागि रिता धिताल र अस्ट्रेलियाका लागि कान्ता रिजाललाई नेपाली राजदूत नियुक्त गर्ने निर्णय गरेको छ । स्पेनका लागि सनिल नेपाल, मलेसियाका लागि नेत्रप्रसाद तिमिल्सिनाको नाम सिफारिस गरिएको छ ।
यसैगरी, मन्त्रिपरिषद्को बैठकले अहिले भइरहेका सचिवहरूको पनि फेरबदल गरी एक ठाउँबाट अर्को स्थानमा सरुवा गरेको छ । अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीका ठाउँमा अर्थ मन्त्रालयकै राजस्व सचिव डा. रामप्रसाद घिमिरेलाई ल्याइएको छ । मरासिनीलाई उपराष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ ।
मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमा राजस्व सचिव घिमिरेलाई अर्थ सचिव बनाउने निर्णय गरेको हो । नवनियुक्त अर्थसचिव घिमिरेलाई यसअघि अर्थमन्त्री विष्णु पौडेलको प्रस्तावमा २०७९ पुस तेस्रो साता राजस्व सचिव बनाइएको थियो । त्यतिखेर पौडेलले दुई महिना मात्र अर्थ मन्त्रालयको नेतृत्व सम्हालेका थिए । पौडेलपछि नेपाली कांग्रेसका डा. प्रकाशशरण महतले अर्थ सचिव फेर्दा राजस्व सचिवमा घिमिरेले निरन्तरता पाएका थिए । महतपछिका अर्थमन्त्री वर्षमान पुनले समेत अर्थ सचिव फेरेर पनि राजस्व सचिवमा घिमिरेलाई नै निरन्तरता दिएका थिए । सचिवका रूपमा घिमिरेको कार्यकाल २ वर्ष बाँकी छ । घिमिरे २०७८ साउन पहिलो साता सचिवमा बढुवा भएका थिए ।
अर्थ मन्त्रालयको राजस्व सचिवमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेलाई जिम्मेवारी दिइएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा मधुसुदन बुर्लाकोटीलाई पठाइएको छ । बुर्लाकोटी हाल राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा कार्यरत छन् ।
मन्त्रिपरिषद्ले अन्य मन्त्रालयका सचिवहरूको पनि जिम्मेवारी हेरफेर गरेको छ । उपराष्ट्रपति कार्यालयकी सचिव राधिका अर्याललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा ल्याइएको छ । त्यसैगरी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव घनश्याम उपाध्यायलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरिएको छ । अख्तियारका रामेश्वर दंगाललाई उद्योग मन्त्रालयमा सरुवा गरिएको छ । श्रम मन्त्रालयमा मुकुन्दप्रसाद निरौलालाई ल्याइएको छ । रक्षा मन्त्रालयका सचिव किरणराज शर्मालाई प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा गरिएको छ ।
संघीय मामिला सचिवमा भरत सुवेदी र भौतिक पूर्वाधार सचिवमा केशवकुमार शर्मा पुगेका छन् । ऊर्जामा सचिवमा गोपालप्रसाद सिग्देल, राष्ट्रपतिको कार्यालयमा नारायणप्रसाद दुवाडी पुगेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारी राजकुमार श्रेष्ठले र सार्वजनिक खरिद कार्यालयको जिम्मेवारी रामकृष्ण सुवेदीले पाएका छन् ।
यसैबीच, मन्त्रिपरिषद् बैठकले तीन प्रदेश प्रमुख फेर्ने निर्णय गरेको छ । बाग्मतीमा दीपकप्रकाश देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्तीमगर र कर्णालीमा यज्ञराज जोशी सिफारिस भएका छन् । उनीहरूको नियुक्ति राष्ट्रपतिबाट हुने संवैधानिक व्यवस्था छ । यसअघि बाग्मतीमा यादव शर्मा, लुम्बिनीमा अमिक शेरचन र कर्णालीमा तिलक परियार प्रदेश प्रमुख थिए । माओवादी र एकीकृत समाजवादी पृष्ठभूमिका प्रदेश प्रमुखलाई हटाएर एमाले र कांग्रेस पृष्ठभूमिका सिफारिस भएका हुन् । अघिल्लो सरकारले नियुक्त गरेका तीन प्रदेश प्रमुख हटाउँदै सरकारले सोमबार नयाँ प्रदेश प्रमुख नियुक्त गरेको हो ।
कामु प्रधान सेनापतिमा रथी अशोकराज सिग्देल नियुक्त
सरकारले नेपाली सेनाको कामु प्रधानसेनापतिमा रथी अशोकराज सिग्देललाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सिग्देललाई नियुक्त गरेको हो । नेपाली सेनाको सिफारिसमा रक्षा मन्त्रालयले कामुका लागि सोमबार मन्त्रिपरिषद्मा प्रस्ताव लगेको थियो ।
आगामी २४ भदौबाट प्रधानसेनापति प्रभुराम शर्मा अवकाश हुँदै छन् । उनी त्यसको एक महिना अघिबाटै घर बिदामा बस्ने भएकाले सिग्देललाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिइएको हो । उनी रोलक्रममा अगाडि रहेका छन् । यसअघि रथी ताराध्वज पाण्डेले नागरिकता विवादमा राजीनामा दिएपछि सिग्देलको सेना प्रमुख हुने बाटो खुलेको हो ।
राजदूत सिफारिस भएकाहरूको सूची
भारत – शंकर शर्मा
अमेरिका – लोकदर्शन रेग्मी
चीन – कृष्णप्रसाद ओली
बेलायत – चन्द्रप्रसाद घिमिरे
जर्मनी – शैल रूपाखेती
साउदी अरब – नरेशविक्रम ढकाल
इजरायल – धनप्रसाद पण्डित
दक्षिण अफ्रिका – कपिलमान श्रेष्ठ
दक्षिण कोरिया – शिवमाया तुम्बाहाङ्फे
पोर्चुगल – प्रकाशमणि पौडेल
पाकिस्तान – रिता धिताल
अस्ट्रेलिया – कान्ता रिजाल
स्पेन – सनिल नेपाल
मलेसिया – नेत्रप्रसाद तिमिल्सिना