भाद्र ३, काठमाडौँ- प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ ।
आजका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्छन् ।
रक्षाबन्धन गर्दा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको छ ।
मानव रक्षाका लागि जप, तप र पूजागरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको जनै र रक्षासूत्र धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।
नेपाल पञ्चाङ्ग निर्यायक विकास समितिका अनुसार मुलुकका विशिष्ट व्यक्तिले मात्र भद्रा कटाइ दिनको १:३१ बजेपछि रक्षाबन्धनको कर्म गर्नु मुनासिव हुनेछ ।
सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी अत्यन्त बलशाली दानवराज बलिसमेत बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए । सोही पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा निरन्तर छ ।