Spread the love
आश्विन १८, काठमाडौं  – काठमाण्डौ जोड्ने मुख्य नाका नागढुङ्गा–मुग्लिन सडकमा गाडीको आवतजावत सामान्य हुन थालेको छ । पहिरो हटाएर दुईतर्फी सडक खुलाएसँगै गाडीको आवतजावत सामान्य हुन थालेको ट्राफिक प्रहरीले जनाएको छ । तर पहिरोको जोखिम कायमै रहेकाले सावधानी अपनाउन प्रहरीले अनुरोध गरेको छ ।

यस्तै मुग्लिन–पोखरा, नारायणगढ–बुटवललगायतका मुख्य सडकमा भने दुईतर्फी नै गाडी चलिरहेका छन् । बीपी राजमार्गको काभ्रे खण्डमा भने गाडी सञ्चालन गर्न समस्या भएको प्रहरीले जनाएको छ । बीपी राजमार्गकाे चौकीडाँडा–कालढुङ्गा १८ किलोमिटरमध्ये झन्डै १२ किलोमिटर सडक पूर्णरूपमा बगेका कारण केही ठाउँमा गाडी रोकिएका छन् । रोशी खोलाको पानीको बहावलाई मध्यनजर गरी सम्भव भएसम्मका सबै विकल्पहरू प्रयोग गरी अस्थायी रूपमा गाडी सञ्चालन गर्ने तयारी भइरहेको सडक विभागले जनाएको छ ।

मध्यपहाडी लोकमार्गको दोलालघाट–राकथुम ८० किलोमिटर खण्डका धेरै ठाउँमा पहिरो पन्छाउने काम भइरहेको छ । कान्ति राजपथ र दक्षिणकाली–छैमले सडक आज र भोलिसम्ममा खुलाउने तयारी छ ।

काठमाण्डाैबाट नौबिसे हुँदै हेटौँडा र थानकोट–चित्लाङ हुँदै साना गाडीलाई हेटौँडासम्म जाने छोटो बाटो मर्मत गरेर चाँडै सञ्चालन गर्ने कोशिश भइरहेको सडक विभागले जनाएको छ । अरनिको राजमार्गमा लार्चा–कोदारीको पाँच किलोमिटरमा मर्मत सकिएको छैन भने लिपिङ पुल र लार्चाको बेलिब्रिज बगाएका कारण सडक अवरुद्ध भएको छ ।

यस्तै मेची राजमार्गकाे रमिते–फिदिमको आठ किमी, हेवा पुलसहित रमिते डाँडाको पहिरो हटाउने काम भइरहेको छ । हेवा खोलामा अस्थायी डाइभर्सन बनाएर गाडी सञ्चालनको तयारी भइरहेको विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0