हेटौँडा–भीमफेदी–काठमाण्डौ सडक एक हप्तापछि हिजोदेखि सञ्चालनमा आएको छ । अब हेटौँडा–काठमाण्डौ जोड्ने छोटो दुरीका हेटौँडा–फाखेल–काठमाण्डौ, हेटौँडा–कुलेखानी–चखेल–मातातीर्थ, हेटौँडा–कुलेखानी–मार्खु–चित्लाङ–चन्द्रागिरि–काठमाण्डौ सडक सञ्चालनमा आएको छ । तर काठमाण्डौ–हेटौँडा जोड्ने अर्को सडक कान्ति राजपथ भने खुलाउन भने अझै केही दिन लाग्ने भएको छ ।
काठमाण्डौको जीवन रेखा अर्थात लाइफ लाइनका रूपमा रहेको पृथ्वी राजमार्ग र त्रिभुवन राजपथ भने यसअघि नै सञ्चालनमा आइसकेका छन् । पूर्वी नेपाललाई काठमाण्डौसँग जोड्ने सबैभन्दा व्यस्तमध्येको बीपी राजमार्ग खुलाउन भने अझै समस्या भएको छ ।
बीपी राजमार्गको रोशी खोलादेखि पूर्व–दक्षिण १२ किलोमिटरसम्म बाटो बगाएको छ । त्यसकारण त्यहाँ तत्काल यातायात सञ्चालन गर्न नसकिने सडक विभागले जनाएको छ ।
बाढीले बगाएको बाटो बनाउन नसक्दा पूर्व जाने यात्रुले वैकल्पिक बाटो खोज्न थालेका छन् । बीपी राजमार्गको सबभन्दा ठूलो विकल्पको रुपमा काठमाण्डौ–हेटौँडा जोड्ने सडक बनेका छन् ।
बीपी राजमार्गको विकल्पमा काभ्रेको भकुन्डेबेँसीबाट तिमाल खैरेनी हुँदै मध्यपहाडी लोकमार्ग भएर रामेछापको सित्खा पुलबाट सुनकोशी नदी पार गरी बीपी राजमार्ग निस्कने छोटो दूरीको सडक सञ्चालनमा आएको छ । तर यी बाटो भएर यात्रा गर्दा गाडीवालाले दोब्बर भाडा लिने गरेको यात्रुको गुनासो छ|