Spread the love

facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button

कार्तिक ११, काठमाडौँ- अमेरिका र स्कटल्याण्डविरुद्ध हुने आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ को शृङ्खलाका लागि नेपाली टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले शनिबार रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्सीय टोलीको घोषणा गरेको हो ।

टोलीका अन्य खेलाडीमा अनिल साह, कुशल भुर्तेल, आसिफ सेख, भीम सार्की, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, आरिफ सेख, कुशल मल्ल, सोमपाल कामी, सन्दीप लामिछाने, करण केसी, ललितनारायण राजवंशी, गुल्सन झा र रिजन ढकाल रहेका छन् ।

देव खनाल र सागर ढकाललाई रिजर्भमा राखिएको छ । लिग–२ मा नेपालले अमेरिका र स्कटल्याण्डसँग दुई दुई खेल खेल्ने छ । नेपालले पहिलो खेल आज राति घरेलु टोली अमेरिकासँग खेल्नेछ । उक्त खेल राति ९:१५ बजे सुरु हुने छ । नेपालले दोस्रो खेल मङ्गलबार स्कटल्याण्डसँग खेल्नेछ ।

आइसिसी विश्वकप लिग–२ मा नेपालसहित क्यानडा, अमेरिका, नेदरल्याण्डस्, स्कटल्याण्ड, नामिबिया, ओमान र युनाइटेड अरब इमिरेट्स (युएई) सम्मिलित छन् । नेपाल आइसिसी विश्वकप लिग-२ को अङ्कतालिकामा सातौँ स्थानमा छ ।

नेपालले हालसम्म खेलेका आठ खेलमा एउटामा जित तथा ६ मा हारका साथ तीन अङ्क जोडेको छ । एउटा खेल वर्षाका कारण हुनसकेको थिएन ।

यस्तै अमेरिका हालसम्म खेलेका नौ खेलमध्ये ६ मा जित र तीनमा हारका साथ १२ अङ्क जोडेदै दोस्रो स्थानमा छ । स्कटल्याण्डले भने हालसम्म आठ खेल खेलेको छ । स्कटल्याण्ड पाँच खेलमा जित तथा दुईमा हार बेहोर्दै अङ्कतालिकामा चौथो स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0