कार्तिक १२, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनबाट पहिलो भ्रमण गर्ने तयारी थालेका छन् । प्रधानमन्त्री बनेको तीन महिनापछि ओलीले उत्तरी छिमेकी राष्ट्र चीन भ्रमण गर्न लागेका हुन् । नेपालमा प्रधानमन्त्री हुने बित्तिकै पहिलो चर्चा विदेश भ्रमणको हुने गरेको छ । ओली पनि प्रधानमन्त्री भएपछि पहिलो भ्रमण भारतबाट निमन्त्रणा आउने आशमा थिए । तर, दक्षिणी छिमेकी भारतबाट भ्रमणको ग्रिन सिग्नल नआएपछि ओलीले चीनबाट भ्रमण थाल्न लागेका हुन् ।
प्रधानमन्त्री ओलीले आउँदो मंसिर पहिलो साताभित्र चीन भ्रमणको तयारी थालेका छन् । प्रधानमन्त्री ओलीको भ्रणका लागि परराष्ट्र मन्त्रालयले गृहकार्य गरिरहेको छ । सरकारको नेतृत्व गरेको सय दिन पूरा भएपछि प्रधानमन्त्री ओली पहिलो भ्रमणका रूपमा छिमेकी चीन जाने तयारीमा जुटेका हुन् । सरकार बनेको एक महिनापछि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले ३ भदौमा भारतीय प्रधानमन्त्री मोदीसँग दिल्लीमा शिष्टाचार भेट गरेकी थिइन् । त्यतिबेला उनले मोदीलाई नेपाल भ्रमणको निम्तो दिएकी पनि थिइन् । परराष्ट्रमन्त्री राणालाई भारतका प्रधानमन्त्री मोदीले उच्च महत्व दिएका थिए ।
गत असोजमा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जाँदा प्रधानमन्त्री ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग साइडलाइन वार्ता गरेका थिए । सन् २०१९ मा नेपालले संविधान संशोधन गरेर नेपालको चुच्चे नक्सा बनाएपछि भारतीय प्रधानमन्त्री मोदीसँग ओलीको सम्बन्धमा सुधार आउन नसकिरहेका बेला अमेरिकामा भएको भेटले केही सुधार आउने आशा गरिएको थियो । सो भेटमा प्रधामन्त्री ओलीले भारतीय समकक्षी मोदीलाई नेपाल भमणको निमन्त्रणा दिएका थिए ।
तर, मोदीले अनुकूल समय मिलाएर आउने कूटनीतिक जवाफ फर्काएका थिए । मोदीले भने प्रधानमन्त्री ओलीलाई सो समयमा पनि भारत भ्रमणको निम्तो दिएनन् । नेपालका प्रधानमन्त्री ओलीले सम्बन्ध सुधारका लागि मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिए पनि स्वीकार गरेनन् । भारत भ्रमणका लागि तत्काल निमन्त्रणा आउने सम्भावना नदेखेपछि ओलीले आफ्नो पहिलो विदेश भ्रमण चीनबाट गर्न लागेका हुन् । यसअघि प्रधानमन्त्री हुँदा ओलीले भारतबाटै पहिलो विदेश भ्रमण गरेका थिए । तर, पछिल्लो समय भारतसँगको सम्बन्धमा सुधार आउने संकेत नदेखेरै ओलीले चीनबाट भ्रमण थाल्न लागेको हुनसक्ने कूटनीतिज्ञहरू बताउँछन् ।
ओलीले चीन भ्रमणमा जानुअघि परराष्ट्र मन्त्रालय र विकास योजनासँग सम्बन्धित मन्त्री तथा सचिव डाकेर चीनसँगका सम्झौताको प्रगति’bout फलोअप गर्न निर्देशन दिएको स्रोतले बतायो । चीन भ्रमण जानुअघि चीनको परियोजनाका रूपमा आएको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) बारे नेपालमा के कति प्रगति भयो भन्ने बारेमा ओलीले चासो राखेका हुन् । चीनले नेपालमा बीआरआई परियोजनाको प्रतिबद्धता मात्रै होइन कार्यान्वयनमा पनि जाओस् भनेर प्रगति खोजिरहेको छ । त्यसैले पनि ओलीले बेइजिङ जानुअघि बीआरआईको कार्यप्रगति के कति भयो भनेर खोजेका हुन् ।
सन् २०१७ मै बीआरआई फ्रेमवर्कमा समझदारी भइसके पनि कार्यान्वयनमा ढिलासुस्ती भएको भन्दै चिनियाँ पक्षले चासो देखाइरहेको छ । बेइजिङ भ्रमणको तयारीका क्रममा प्रधानमन्त्री ओलीले बीआरआईलगायत अन्य चिनियाँ सम्झौताको प्रगति बारे चासो राखेका छन् । २०७५ सालमा तत्कालीन प्रधानमन्त्रीका रूपमा ओलीले चीन भ्रमण गर्दा निकै उपलब्धि भएको मानिएको थियो । २०७५ असारमा ओलीले प्रधानमन्त्रीका रूपमा भ्रमण गर्दा केरुङ काठमाडौं रेल्वेसम्बन्धी परियोजनामा सहमति भएको थियो । यसैगरी, बेल्ट एन्ड रोड परियोजनामा गरिएको समझदारीपत्रको कार्यान्वयन गर्ने, कनेक्टिभिटीका मुख्य तत्वहरू सम्बोधन गर्ने, रोड, रेल्वे, उड्डयनलगायतका विषयमा सम्झौता भएको थियो ।
प्रधानमन्त्री ओली मात्रै होइन यसअघि सुरुमा २०६५ सालमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि प्रधानमन्त्री हुँदा आफ्नो पहिलो भ्रमण चीनबाट गरेर भारतलाई चुनौती दिएका थिए । पछि उनले त्यसलाई सच्याउँदै पहिलो औपचारिक भ्रमण भारतलाई नै भनेका थिए । त्यसपछि बनेका प्रधानमन्त्री झलनाथ खनालबाहेक हालसम्मका सबै प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण भारत नै भएको छ ।
२०६७ सालमा प्रधानमन्त्री बनेका खनालको पहिलो विदेश भ्रमण कम्बोडियाबाट भएको थियो । प्रधानमन्त्री नियुक्त हुँदा खनाललाई भारतका तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहले पहिलो बधाई दिए पनि खनालले प्रधानमन्त्रीका रूपमा पहिलो विदेश भ्रमणमा कम्बोडियालाई रोजेका थिए । त्यसपछि पनि उनी प्रधानमन्त्री रहुन्जेल भारतको भ्रमणमा गएनन् ।