पौष ३, काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल)मा आजदेखि प्लेअफका खेलहरू सुरु हुँदैछन् । एनपीएलको लिग चरणको खेलबाट शीर्ष चारमा रहने टोलीले प्लेअफमा स्थान बनाएका हुन् ।
अंक तालिकाको शीर्ष र दोस्रो स्थानमा रहने टोलीले पहिलो क्वालिफायर्स खेल्नेछन् । तेस्रो र चौथो स्थानमा रहने टोलीले एलिमिनेटर खेल्नेछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज बिहान हुने पहिलो खेलमा एलिमिनेटर खेलमा तेस्रो स्थानको चितवन राइनोज र चौथो स्थानमा रहेको कर्णाली याक्स भिड्नेछन् ।
खेल बिहान ९ बजेदेखि सुरु हुनेछ । यो खेलको विजेताले दोस्रो क्वालिफायर्स खेल्नेछ । पराजित हुने टोली भने प्लेअफबाटै बाहिरिनेछ । आजको दोस्रो खेलमा पहिलो क्वालिफायर्स खेल हुनेछ । पहिलो क्वालिफायर्समा शीर्ष स्थानको सुदुरपश्चिम रोयल्स र दोस्रो स्थानको जनकपुर बोल्ट्स खेल्नेछन्। सो खेल दिउँसो १ बजेदेखि सुरु हुनेछ ।
यो खेलको विजेताले सिँधै फाइनलमा स्थान पक्का गर्नेछ । पराजित हुने टोलीले भने फाइनल पुग्नका लागि अर्को एक मौका पाउनेछ ।
दोस्रो क्वालिफायर्समा पहिलो क्वालिफायर्समा पराजित हुने टोली र एलिमिनेटरको विजेता टोली भिड्नेछन् । दोस्रो क्वालिफायर्स खेल भोली बिहीबार हुनेछ । फाइनल खेल शनिबार हुनेछ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाली खेलकुदमै ठूलो आर्थिक लगानीमा आयोजना गरेको एनपिएल सर्वाधिक पुरस्कार राशी रहेको प्रतियोगिता पनि हो ।
विभिन्न देशका ४० भन्दा बढी चर्चित खेलाडीको आगमनले थप चर्चा पाएको एनपिएलको विजेता टोलीले एक करोड १० लाख रुपियाँ पुरस्कार पाउनेछ ।