काठमाडौँ —लत्ताकपडादेखि भान्साका सामान सजिलै पाइने हुँदा ग्राहकले अनलाइन अर्डर गर्दै आएका छन्, यही मौकामा अनलाइन माध्यमबाट आर्थिक अपराध पनि बढिरहेका छन्
पछिल्लो समय सामाजिक सञ्जालमा विज्ञापन गरिएका सामान खरिद गर्ने क्रममा ग्राहक ठगिने क्रम बढेको छ । हालै इन्स्टाग्राममा गरिएको विज्ञापनमा विश्वास गरेर कपडा अर्डर गर्दा काठमाडौंकी एक ग्राहक ९ हजार २ सय रुपैयाँ ठगिइन् । उनले ‘मान्सी कलेक्सन’ नाम गरेको इन्स्टाग्राम खातामा विज्ञापन गरिएका गर्मीमा लगाउने कपडा अर्डर गरेकी थिइन् । यो खाताका फलोअर ३१ हजारभन्दा बढी छन् । महिलाले लगाउने कुर्ता–सुरुवाल, टिसर्टलगायत कपडाको विज्ञापन गरिएको हुन्छ । बायोमा बुटवल गोकुल मार्ग, मिलनचोक ठेगाना लेखिएको कलेक्सनमार्फत कपडा अर्डर गर्दा देशैभर निःशुल्क डेलिभरी गरिदिने उल्लेख छ ।
हजारौं फलोअर भएको र आफूलाई मन पर्ने खालका लुगा देखेर काठमाडौंकी ती ग्राहकले मान्सीको मेसेज बक्समा गएर अर्डर गरेकी थिइन् । बैंक खातामा अग्रिम भुक्तानी गर्नुपर्ने सर्त थियो । सोहीअनुसार ग्राहक मान्सीले खातावालाले मेसेजमा पठाएको बैंक खातामा भुक्तानी गरिदिइन् । भुक्तानी गरेको १० दिनसम्म कपडा डेलिभरी नगरिदिएपछि मेसेज र बायोमा राखिएको मोबाइल नम्बरमा सम्पर्क गर्न खोजिन् । सम्पर्क नभएपछि सोही इन्स्टाग्राम खाताको कमेन्ट बक्समा गएर टिप्पणी गरिन् । उनको टिप्पणी केही समयमै मेटियो ।
आफू ठगीमा परेको शंका लागेर उनले नेपाल प्रहरीको काठमाडौं भोटाहिटीस्थित साइबर ब्युरो कार्यालय पुगेर उजुरी दिइन् । त्यहाँ पुगेपछि उनले थाहा पाइन्– सोही इन्स्टाग्राम खाताबाट कपडा खरिद गर्दा आफूजस्तै थुप्रै ग्राहक ठगिएका रहेछन् । पीडितले दिएको उजुरीका आधारमा ठगीको अनुसन्धान भइरहेको साइबर ब्युरोका प्रहरी उपरीक्षक एवम् प्रवक्ता दीपकराज अवस्थीले बताए । प्राप्त उजुरीहरूलाई विशेष ध्यानमा राख्दै अनुसन्धान सुरु गरिसकेको र ग्राहकका पैसा फिर्ता गर्ने प्रयास जारी रहेको अवस्थीको भनाइ छ ।
‘इन्स्टाग्राममा फेसनेबल कपडा र हजारौं फलोअर्स देखेर, भरपर्दो सोचेर मैले अर्डर गरेकी थिएँ,’ ठगिएकी काठमाडौंकी ती ग्राहकले कान्तिपुरसँग भनिन्, ‘ग्राहकलाई प्रभु बैंक, एनआईसी एसिया, ग्लोबल र सानिमा बैंक गरेर चार फरक बैंकमा पैसा जम्मा गर्न लगाउँदो रहेछ, पैसा भुक्तानी गरेपछि सम्पर्कविहीन भएर ठग्दो रहेछ ।’
इन्स्टाग्राम खातामा अर्डर गरेको सामान हात नपारेका ग्राहकले थुप्रै गाली गरेका कमेन्ट छन् । ठगिएकाहरू जतिको एक समूह बनाएर साइबर ब्युरोमा उजुरी गर्न जानुपर्ने एक जनाको कमेन्ट छ । युवा पुस्ताले रुचाएका ‘कन्टेन्ट क्रिएटर’ राजी महर्जनले पाँच हजार मूल्य पर्ने सामान २५ सयमा बेच्ने लोभलालच देखाएर ग्राहकलाई ठग्ने गरेको टिप्पणी गरेकी छन् । अनेक फरक महिला मोडल राखेर कहिले कुर्ता, कहिले पाइजामा त कहिले जुत्ता प्रदर्शन गरेको झूटो र गलत हो भन्दै उनले आफ्ना फ्यानहरूलाई यस्ता ठगीबाट जोगिन सचेतनामूलक भिडियो बनाएर इन्स्टाग्राम खातामा राखेकी छन् ।
इन्स्टाग्राम र फेसबुकजस्ता सामाजिक सञ्जाललगायत अनलाइन प्लाटफर्ममार्फत हुने ठगी दिनहुँ बढिरहेको र पीडित निवेदन पेस गर्न कार्यालय धाइरहेको साइबर ब्युरोका प्रहरी अधिकृत सुनाउँछन् । गत वर्ष फागुन मसान्तसम्म अनलाइन ठगीविरुद्ध १ हजार ८ सय १५ वटा उजुरी परेको साइबर ब्युरोका प्रवक्ता अवस्थीले जनाए । उजुरीहरूउपर मुलुकी अपराध संहिता, ०७४ को ‘ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुर’ बमोजिम कारबाही गर्दै आएको उनले बताए । यसमा बेइमानीका नियतले कमसल वा घटी परिमाणका माल, वस्तु वा सेवा आपूर्ति गर्न वा अन्य कुनै किसिमबाट तोकिएको भन्दा फरक गुणको माल, वस्तु वा सेवा उपलब्ध गर्ने वा गराउने व्यक्तिलार्ई पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुन्छ । एक्सटर्सनसम्बन्धी कसुरमा यस वर्ष गत फागुन मसान्तसम्म १ हजार ६ सय ६० उजुरी परेको नक्सालस्थित प्रहरी प्रधान कार्यालयले जारी गरेको विवरणमा उल्लेख छ । अनलाइन प्लाटफर्मबाट हुने ठगीहरूबाट सुरक्षित हुन उपभोक्तासमेत सचेत हुनुपर्ने प्रवक्ता अवस्थीले सुझाए । ‘तत्कालका लागि इन्टरनेट प्रयोगकर्ता/ग्राहक आफैं सचेत रहनुपर्छ । कुनै पनि अनलाइन स्टोरबाट सामान किन्दा ती स्टोरका ग्राहक समीक्षा पहिला बुझेर मात्रै खरिद गर्ने नगर्ने निर्णय गर्नु जरुरी छ,’ उनले भने ।