जेष्ठ १९ काठमाण्डौ – जेठ मसान्तसम्म क्यासिनो नवीकरणका लागि आवेदन नदिए क्यासिनो सञ्चालकको इजाजतपत्र स्वतः खारेज हुने भएको छ । सञ्चालन गर्दै आएको क्यासिनो यही जेठ मसान्तसम्म नवीकरणका लागि निवेदन नदिए सञ्चालनका लागि लिएको इजाजतपत्र स्वतः खारेज हुने पर्यटन विभागका प्रवक्ता एवम् निर्देशक काली बहादुर भुजेलले जानकारी दिनुभयो ।
क्यासिनोको इजाजतपत्र असार मसान्तमा नवीकरण हुने र त्यसका लागि नवीकरण गर्न एक महिना अगाडि जेठ मसान्तसम्म आवेदन दिनुपर्ने हुन्छ । जेठ मसान्तसम्म नवीकरणका लागि आवेदन नदिए स्वतः खारेज हुनेछ । उहाँकाअनुसार देशभरी क्यासिनो सञ्चालनका लागि २८ इजाजतपत्र दिइएको छ ।
विभागबाट अनुमति लिई सञ्चालनमा रहेका क्यासिनो सञ्चालकले इजाजतपत्रको मान्य अवधि समाप्त हुनुअगावै (चालु आर्थिक वर्ष असार मसान्त) नवीकरण गर्नुपर्ने भएकाले चालु आर्थिक वर्षको जेठ मसान्तभित्र बक्यौता र तोकिएबमोजिमको क्यासिनो रोयल्टी रकम, नवीकरण दस्तुर तथा क्यासिनो नियमावली, २०७० को नियम १३ (१) मा उल्लिखित कागजात संलग्न गरी विभागमा निवेदन दिन विभागले आग्रह गरेको छ ।