Date
सोम, पुस ८, २०८१
Mon, December 23, 2024
घर Headlines भारतमा मोदीको तेस्रो पटक प्रधानमन्त्रीको बाटो खुला

भारतमा मोदीको तेस्रो पटक प्रधानमन्त्रीको बाटो खुला

10
Spread the love

जेष्ठ २३ , भारतमा सम्पन्न आमनिर्वाचनमा अनअपेक्षित परिणाम आएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टीले ५ सय ४३ सदस्यीय लोकसभामा स्पष्ट बहुमतका लागि आवश्यक २ सय ७२ सिट प्राप्त गर्न सकेन । भारतीय जनता पार्टी २ सय ४१ सिटमा सीमित रह्यो । यद्यपि, भाजपाको नेतृत्वमा रहेको गठबन्धन नेसनल डेमोक्रेटिक एलायन्स (एनडीए)ले २ सय ९२ सिट जितेको छ । यसकारण तेस्रो कार्यकालका लागि नरेन्द्र मोदीले आगामी जुन ९ भित्र प्रधानमन्त्रीका रूपमा शपथ लिने बताइएको छ ।

लोकसभाका लागि भएको आमनिर्वाचनसँगै चार प्रान्तमा पनि निर्वाचन भएको थियो । ती राज्यमध्ये सिक्किममा स्थानीय सिक्किम क्रान्ति दल, आन्ध्र प्रदेशमा तेलगु देशम र अरुणाचल प्रदेश एवं उडिसामा भारतीय जनता पार्टीले विजय हासिल गरेको छ ।

सन् २०१४ को निर्वाचन र त्यसपछिको २०१९ को निर्वाचनमा भारतीय जनता पार्टी एक्लैले क्रमशः २ सय ८२ र ३ सय ३ स्थान जितेर स्पष्ट बहुमत हासिल गरेको थियो । अब नयाँ बन्ने सरकार सहयोगीमा निर्भर हुनेछ । तसर्थ, अब बन्ने सरकार बलियो भने हुने छैन । मूलतः एनडीए गठबन्धनभित्रको १६ सिट भएको आन्ध्र प्रदेशका चन्द्रबाबु नायडुको तेलगु देशमा पार्टी र १२ सिट भएको बिहारका नितिशकुमारको जनता दल युनाइटेड पार्टीको मुख्य भूमिका रहनेछ । नायडु र नितिश दुवै कुनै पनि समय कोल्टे फेर्न सक्ने ‘हार्ड बार्गेनर’का रूपमा चिनिन्छन् । यी दुईको कैयन माग पूरा गर्नु मोदीको बाध्यता हुनेछ र त्यसकारण उनको अबको यात्रा सहज नहुने स्पष्टै छ ।

यस निर्वाचनमा भारतीय जनता पार्टीको उत्तर प्रदेश राज्यमा अत्यन्तै निराशाजनक प्रदर्शन रह्यो । ८० सिट भएको सो राज्यमा भारतीय जनता पार्टीले जमा ३४ सिट जितेको छ । २०१४ र २०१९ मा यस राज्यमा भाजपाले ७० र ६२ सिट जितेको थियो । उत्तर प्रदेशमा राहुल गान्धीको कांग्रेस र अखिलेश यादवको समाजवादी पार्टीको गठबन्धनले ४५ सिट जितेको छ । स्वयं गान्धीले रायबरेलीबाट ठूलो अन्तरले जितेका छन् भने यादवले कन्नौजबाट त्यस्तै जित निकालेका छन् । उत्तर प्रदेशबाट स्मृति इरानीसहित केही केन्द्रीय मन्त्रीले पनि चुनाव हरेका छन् । त्यहाँ यादव, दलित र मुस्लिम मतदाताले एकमुष्ट भाजपाविरुद्ध मतदान गरेको अनुमान गरिँदै छ ।

‘पराजित’ चित्रण हुँदै गरेका नरेन्द्र मोदीको सिट संख्या झन्डै ६० सिटले घटेको छ । तर, भारतीय जनता पार्टी संसद्मा सबैभन्दा ठूलो दलका रूपमा उदाएको छ । भाजपापछिको दोस्रो ठूलो दल कांग्रेसले सयभन्दा कम संख्या जितेको छ । कांग्रेसले लगातार तेस्रोपटक सयभन्दा कम सिट जितेको हो । भाजपाको सिट संख्या घटे पनि मत ३७ प्रतिशत चाहिँ यथावत् कायम राख्न सफल भएको छ । भारतको इतिहासमा निर्वाचन जितेर तीनपटक लगातार प्रधानमन्त्री बन्ने रेकर्ड मोदीले कायम गरेका छन् ।

मोदीको आगामी दिन निश्चित रूपमा त्यति सहज छैन । समान नागरिक संहिता जस्ता आक्रामक कदम चाल्न उनलाई निक्कै अप्ठ्यारो पर्नेछ । विदेश नीति सञ्चालनमा पनि उनले निक्कै होसियारी अपनाउनुपर्ने अवस्था आउन सक्छ । ‘४०० पार’ माग गर्दै चुनावमा होम्मिएका प्रधानमन्त्री मोदी २ सय ९२ मा खुम्चिनु पर्दा मोदीले नैतिक रूपमा प्रधानमन्त्री पद स्वीकार्न नहुने झिनो आवाज नउठेको होइन । तर, मोदीले यस परिस्थितिमा पनि प्रधानमन्त्री बन्ने निर्णय गर्नुले उनको आक्रामकतामा कमी नआउने आँकलन गरिँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
3
+1
0
+1
0
+1
0