Spread the love

जेष्ठ २६ काठमाडौं | गाउँ छाड्न चाहनेका निम्ति अनेकन् बहाना मिल्छन् यहाँ। सुविधाविहीन गाउँकी सोझासादा युवतीलाई नेपाल बसेर केही गर्न सकिन्न, बरु चिनियाँसँग विवाह गरेर जाँदा धेरै प्रगति हुन्छ भनेर पनि फकाइन्छ।चिनियाँ नागरिकसँग बिहे गरेर चीनमै बसिरहेकी मनमाया घलेले आफ्नै गाउँका युवतीहरूलाई राम्रो केटा आएको जानकारी गराउँछिन्। चिनियाँसँग बिहे गर्ने हो भने आफू लगायत पूरै परिवारलाई धेरै राम्रो हुने भनेर विभिन्न प्रलोभन उनले दिँदै आएकी थिइन्।नुवाकोटकी एक युवतीलाई मनमायाको फोनमार्फत चिनियाँ केटासँग बिहे गर्न प्रस्ताव गरिन्। तर, त्यसरी आएको प्रस्तावलाई ती युवतीले अस्वीकार गरिन्। ‘म अहिले बिहे गर्दिनँ,’ ती युवतीले भनिन्, ‘पढाइ सकेको छैन, पढ्दै छु। जागिर खाएपछि मात्रै बिहे गर्ने हो।’

घरमा बाबुआमाले राम्रो घरबार भएको केटा आएको छ भनेर छोरीलाई फकाए झैं एजेन्ट मनमायाले गाउँका सोझा केटीलाई अनेकन् प्रलोभन दिइन्। ‘धेरै राम्रो छ चाइनिज केटा,’ उनले भनिन्, ‘उनीहरूले नेपाली केटी धेरै मन पराउँछन्। हाम्रै गाउँका धेरै महिलाले चाइनिजसँग बिहे गरेका छन्। उनीहरूको अहिले धेरै राम्रो छ। चाइनाका चिनजानकै केटा बिहे गर्न भनेर नेपाल आएका छन्।’

चिनियाँ केटासँग बिहे गरेमा धेरै फाइदा हुने ती एजेन्टले बताइन्। ‘उनीहरूसँग विवाह गरेर गएको खण्डमा पाँच वर्षमै त्यहाँको ग्रिनकार्ड बन्छ,’ उनले लोभ देखाउँदै भनेकी थिइन्, ‘केटा राम्रोसँगै धेरै धनी पनि छ। बिहे गरेपछि नेपाल आउनजान सहजै मिल्छ। चीन र नेपाल भनेको घरभित्र र बाहिर गरेजस्तै हो।’

गरिबीको दलदलमा पिल्सिएका युवतीलाई चिनियाँसँग बिहे गरेको अवस्थामा साच्चै राम्रो हुन्छ भन्ने विश्वास मनमायाले पार्ने गर्छिन्। ‘एकपटक केटा हेर न, तिमीलाई चित्त बुझे मात्र कुरा अगाडि बढाउँला,’ एजेन्ट मनमायाले गाउँले केटीलाई फकाउने गरेकी छन्।

यो सबै बेलिविस्तार मानव बेचबिखन अनुसन्धान ब्युरोलाई ती युवतीले गरेकी हुन्। काठमाडौंको ठमेलस्थित नर्सिङ चोकको एउटा होटलमा चिनियाँ केटासँग भेटघाट क्षण उल्लेख गर्दै ती युवतीले भनिन्, ‘त्यहाँ चाइनिज एक पुरुष र उनकी आमासहित मनमाया दिदीको साथमा म थिएँ। कुराकानी गर्दैगर्दा चाइनिज आमाछोराले नै केटी मन पर्‍यो भनेर स्विकारे। करिब २० मिनेटमा केटाकी आमाले मेरो फोटो लिनुभएको थियो।’

‘हेर्दा केटो सोझोजस्तै लाग्यो। आफूमाथि ठुलो जिम्मेवारी पनि थियो। नेपालमा कतै भनेको जस्तो काम पनि नपाइने। काम पाइहाल्यो भने पनि कुन बेला निस्कनुपर्ने हो, त्यसको कुनै ठेगान हुँदैनथ्यो।’

भेटघाटको बेलामा उक्त चाइनिज केटालाई आफू साह्रै मनपरेको खबर मनमायाले सुनाएको ती युवती बताउँछिन्।

‘मलाई पनि केटा ठिकै लाग्यो। चिनियाँ केटासँग विवाह गर्ने निर्णय करिब करिब ओके भइसकेको थियो। मनमाया दिदीले अदालतमा गई विवाह दर्ता गर्नुपर्छ, नत्र चीन जान पाइँदैन भनेपछि बिहे दर्ताका लागि अदालत पुग्यौं। आर्थिक वर्ष २०७९ चैत्र १३ मा काठमाडौं जिल्ला अदालतमा विवाह दर्ता पनि भयो,’ ती युवतीले भनिन्।

ती युवती चिनियाँ पुरुषसँग विवाह गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै पतिकै घर चीन पुगिन्। चिनियाँको घरमा नेपाली बुहारीसँगै एजेन्ट मनमाया पनि भित्रिएकी थिइन्। त्यसको भोलिपल्टै नाम थाहा नभएको अर्कै सहरका लागि मनमाया घरबाट निस्किएकी युवतीले बताइन्।

उनी परिवार र आफ्नो भविष्य सुन्दर हुने सपना बोकेर विवाह गरी त्यहाँ पुगेकी थिइन्। तर, उनले सोचेभन्दा ठ्याक्कै उल्टो भयो। विवाह गरेर गएको हरेक महिलाको घर आफ्नो हुन्छ। तर, त्यहाँ उनको केही आफ्नो रहेन। न पति आफ्नो भए न घरपरिवार। उनको जीवन अन्धकारले छोप्न थाल्यो।

‘बिहे गरेर गएको सुरु सुरुका दिनमा सबै राम्रै चल्दै थियो। १०/१२ दिनपछि पतिको व्यवहारमा परिवर्तन आउन थाल्यो। मेरो घरपरिवार र साथी भाइसँग बोल्न प्रतिबन्ध गरियो। बिस्तारै बिस्तारै कोठामा मात्रै बस्ने बाहिर निस्कन नपाउने समेत भयो,’ युवतीले भनिन्।

कोठामा बन्धक बनाएर राखेका बेला शारीरिक सम्पर्क गर्नुभन्दा पहिले पतिले लामो समयसम्म उत्तेजना आउने औषधी सेवन गर्थे। औषधी खाएर उनले लामो समयसम्म यौन सम्पर्क गर्ने गरेको पीडित युवती बताउँछिन्।

‘सुरुका दिनमा राम्रै गरेको मान्छेमा एक्कासी परिवर्तन आयो,’ पीडित युवतीले ब्युरोसँग भनिन्, ‘मलाई निकै गाह्रो हुन्थ्यो। औषधी खाएर धेरै लामो समयसम्म शारीरिक सम्पर्क गथ्र्यो। सहन नसकी रुन्थेँ। दिनकै ८÷१० पटक पशुवत व्यवहार गर्थ्याे।’

आफ्नै पतिबाट शारीरिक सम्पर्कमा दुःख पाएको बिलौना गर्दै उनले भनिन्, ‘पतिले भनेजसरी शारीरिक सम्पर्क राख्न नमान्दा चिमोट्ने, घाँटी ङ्याक्ने जस्ता हर्कत गरेसँगै जबर्जस्ती सम्पर्क राख्थ्यो। घरका अन्य सदस्यले पनि मलाई घृणा गर्दै गए।’

पीडित युवती पतिबाट मात्रै दुःख नपाएर अब परिवारका अन्य सदस्यलगायत पतिका साथीभाइबाट पनि शारीरिक याचना थपिन थाल्यो। त्यसका लागि उनलाई आफ्नै घरबाहिर रहेको छुट्टै झुपडीमा राखेर वेश्यावृत्तिमा लगाएर परिवारले धेरै दुःख दिएको पीडित युवतीले सुनाइन्।

‘घरबाहिरको सानो झुपडीमा मलाई अलग्गै राखेर बाहिरका परपुरुषहरूसँग पैसा लिई वेश्यावृत्तिमा लगाउन थाले,’ उनले भनिन्, ‘आफ्नो मानेर आएको श्रीमान्ले जे गर्‍यो गर्‍यो, त्यो त सहेरै बसें। परपुरुषसँग सम्पर्क राख्दिनँ भनेर अस्वीकार गर्दा त्यहाँ मेरो शक्ति चलेन। उल्टै पतिले थर्काएर मैले जे भन्छु, त्यही गर्, नत्र यतै मारेर फालिदिन्छु भनेपछि म विवश भएँ।’

त्यसरी बसेको झुपडीमा दैनिक ८-१० जना केटा आएर शारीरिक सम्पर्क राख्नुपर्ने पीडित युवतीले बताइन्।

‘पागलजस्तो भएँ, जीवनदेखि हार खाएर आत्महत्या गर्ने सोच पनि बनाएँ। ब्लेडले बायाँ हात पनि काटेँ। कति दिन त पानी मात्र खाएर बसेँ। तर काल नआएपछि कसरी मर्न सकिँदो रहेछ र? मलाई पतिले पत्नीजस्तो व्यवहार कहिल्यै गरेन। सधैं उपभोग्य वस्तुका रूपमा प्रयोग गर्‍यो,’ उनले भनिन्।

आफूलाई नेपाल फर्काउनु भन्दै धेरै अनुरोध गर्दा पतिले दिएको जवाफ उद्धृत गर्दै पीडित युवतीले भनिन्, ‘कहाँ यसै नेपाल पठाउन सकिन्छ र ? एजेन्ट मनमाया घलेलाई नेपाली पाँच लाख रूपैयाँ दिएर खरिद गरी ल्याएको हो। अब त मेरो सामान हो।’

यो सुन्दा ती पीडित युवतीको होसहवास उड्यो। उनले आफू बेचिएको कुरा बल्ल थाहा पाइन्। नेपालमा सामाजिक र धार्मिक परम्परा अनुसार हुने विवाहजस्तै उनको विश्वास थियो। तर, चिनियाँ नागरिकसँगको विवाह त्यस्तो हुन सकेन।

‘मसँग विवाह गरेको नाटक मात्रै रहेछ,’ उनले भनिन्, ‘मसँग विवाहको नाटक गरेर चीनमा पुर्‍याई वेश्यावृत्तिमा लगाउने उद्देश्य रहेछ।’एक दिन त्यो कथित चिनियाँ पति काम विशेषले घरबाहिर गएको समयमा फोनबाट फुपूकी छोरी राधिकामार्फत चीनमै बस्ने उसको साथी सरिता तामाङलाई फोन गरिन्। त्यसपछि बल्ल उनको खुसीको ढोका खुल्यो।

यसरी जबर्जस्ती वेश्यावृत्तिमा लगाएकाले उक्त स्थानबाट राधिकाकी साथी सरितबाट ती युवती उद्धार हुन सफल भइन्। नेपाली दूतावासद्वारा आफू बसेकै घरमा चिनियाँ प्रहरी आएर चीन सरकारकै सहयोगमा हवाईमार्फत केही महिनाअघि ती पीडित नेपाल फर्किएकी हुन्।

एजेन्ट मनमायाले विभिन्न प्रलोभन देखाई झुक्याएर विवाह दर्तासमेत गराई पाँच लाख रूपैयाँमा किनी चीनमा जबर्जस्ती वेश्यावृत्तिमा लगाएको भन्दै मानव बेचबिखन अनुसन्धान ब्युरोमा उनीद्वारा उजुरी परेको छ।

‘आफ्नै देशका नागरिकले अरू देशका नागरिकसँग मिलेर यस्तो नराम्रो काम गर्ने रहेछन्। घरभित्रकै मान्छेले धोका दिएपछि बाहिरका मान्छेले कहाँ छोड्छन् र? विश्वास भन्ने चिज बेकार रहेछ। घरभित्र होस् या बाहिर, जो कोहीलाई पनि विश्वास गर्न हुन्न भन्ने पाठ सिकेँ। मान्छेलाई फसाउन र डुबाउन पाइलापाइलामा तिर थापेका हुन्छन्,’ पीडितले भनिन्।

यस्तो दुःख कसलाई पनि नपरोस् भन्दै सबैलाई सचेत हुन उनले सुझाव दिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
2
+1
0
+1
0
+1
0