जेष्ठ २७ चितवन- उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रियताको रक्षाका लागि वामपन्थी एकताको आवश्यकता रहेको बताउनुभएको छ ।
स्व भुवानीप्रसाद पौडेलको सातौँ स्मृति दिवसका अवसरमा चितवनको माडीमा आयोजित फुटबल प्रतियोगिताको समापन समारोहमा उहाँले रूपान्तरण र राजनीतिक परिवर्तनलाई पूर्णताका लागि वामपन्थी एकताको आवश्यकता रहेको बताउनुभयो । उपप्रधानमन्त्री श्रेष्ठले कम्युनिष्ट पार्टीबीचको एकता तल्लो तहसम्म पुग्नु आवश्यक रहेकामा जोड दिनुभयो ।
यसैगरी उहाँले राजनीतिक परिवर्तनको रक्षा गर्नुका साथै सामाजिक, आर्थिक र खेल क्षेत्रको विकास गर्न जरूरी रहेको धारणा राख्नुभयो । खेल क्षेत्रले नगरको मात्रै नभई देशको नाम राख्ने भएकाले यस क्षेत्रको विकासका लागि सरकार लागिपरेको उहाँको भनाइ थियो ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द बिप्लवले जनताको जनजीविकासँग जोडिएका मुद्दामा सरकारले ध्यान दिन नसकेको बताउनुभयो । उहाँले जनहित रक्षा र राष्ट्रियताको जगेर्नाका लागि आफूहरु सहकार्य गर्न तयार रहेको बताउनुभयो ।