कार्तिक २०, काठमाडौँ – सहकारी ठगी प्रकरणमा पक्राउ गरिएका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराएको छ ।
लामिछाने सहित सहित चार जनालाई कास्की प्रहरीले जिल्ला अदालत कास्कीमा उपस्थित गराएको हो ।
सूर्यदर्शन सहकारी ठगीमा प्रकरणमा पक्राउ गरिएका लामिछाने, छविलाल जोशी, लिला पछाईं रामबहादुर खनाललाई अदालत उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
तिहार बिदाकै बेलामा म्याद सकिएकोले अनुसन्धानका लागि म्याद थप गर्न प्रहरीले कास्की जिल्ला अदालतमा उपस्थित गराएको हो । लामिछानेलाई यसअघि दुईपटक म्याद थप गराएर प्रहरीले अनुसन्धान गरेको थियो ।
लामिछानेलाई गत कात्तिक ३ मा काठमाडौँबाट पक्राउ गरिएको थियो । यसैबीच रास्वपाका सभापति रवि लामिछानेविरुद्ध अनुसन्धान चलिरहँदा रास्वपाका समर्थकहरूले आज पनि पोखरामा प्रदर्शन गरेका छन् ।
पोखराको जिरो किलोमा भेला भएर रास्वपाका नेता कार्यकर्तासहितका समर्थकले लामिछानेको पक्षमा प्रदर्शन गरेका हुन् ।