कार्तिक २२, लमजुङ- राष्ट्रिय प्रसारणबाट विद्युत् वितरण हुँदै आएको लमजुङमा अव जिल्लाबाटै विद्युत् वितरण हुने भएको छ । जिल्लाको बेसीसहर नगरपालिका–१, उदिपुरमा निर्माण सम्पन्न २२० केभी सब स्टेसनबाट जिल्लकालागि ३३ केभी प्रसारण लाइन मार्फत विद्युत् वितरण गर्ने तयारी भएको हो ।
जिल्लाका लागि जिल्ला भित्रैको विद्युत् वितरण हुने भएपछि जिल्ला बासी खुसी भएका छन् । जिल्लामा पर्याप्त विद्युत् उत्पादन हुँदै आए पनि हालसम्म राष्ट्रिय प्रसारण लाइन मार्फत आएको बिजुली मध्यमस्र्याङदी जलविद्युत केन्द्रबाट वितरण हुँदै आएको थियो । राष्ट्रिय प्रसारण मार्फत वितरण हुँदै आएको विद्युत्मा अन्य जिल्लामा समस्या हुँदा पनि जिल्लामा बत्ती अवरोध हुने गरेको थियो । तर अव जिल्लामा उत्पादित विद्युत् जिल्ला भित्रैबाट वितरण हुने भएपछि अन्य जिल्लाको समस्याले जिल्लामा बिद्युत् अवरोध नहुने बताइएको छ ।
राष्ट्रिय प्रसारण लाइनबाट जिल्लामा वितरण गरिएको विद्युत्मा समस्या आउने गरेको र सो समाधानका निम्ति निर्माण सम्पन्न सवस्टेशनबाट वितरणको तयारी भएको नेपाल विद्युत् प्राधिकरण, विद्युत् वितरण केन्द्र लमजुङका प्रमुख मेघनाथ भट्टराईले जानकारी दिनुभयो ।
‘यसअघि राष्ट्रिय प्रसारण लाइनमा चितवन वा तनहुँमा समस्या आउँदा पनि लमजुङको विद्युत् अवरोध हुने गरेको थियो’ भट्टराईले भन्नुभयो ‘अव उदिपुरबाट सिधै जिल्लामा विद्युत् वितरण हुने भएपछि अन्य जिल्लाको समस्याले लमजुङमा कुनै असर पर्दैन ।’
उदीपुर सबस्टेशनबाट ३३ केभी लाइनमार्फत स्थानीय रूपमा समेत बिजुली आपूर्ति गरिने हुँदा यस क्षेत्रको बिजुली आपूर्ति भरपर्दो र विश्वसनीय हुने प्राधिकरणले जनाएको छ । केही समय अघि मात्रै लमजुङको बेसी हर नगरपालिका–१ उदीपुरस्थित दुई सय २० केभी क्षमताको सबस्टेशन निर्माण सम्पन्न भएको हो । मर्स्याङ्दी कोरिडोर दुई सय २० केभी प्रसारण लाइन आयोजना अन्तर्गत उदिपुरमा सवस्टेशन निर्माण भएको हो ।
सबस्टेशनको निर्माण सम्पन्न गरी पावर ट्रान्सफर्मर लगायतका उपकरणहरूको सफलतापूर्वक परीक्षण समेत सकिएको छ । दुई सय २० प्रसारण लाइन निर्माण सम्पन्न नहुँदै हाल एक सय ३२ केभी सबस्टेशनलाई भने सञ्चालनमा ल्याइएको प्राधिकरणले जनाएको छ ।
नेपाल विद्युत् प्राधिकरण र हिमालयन पावर पार्टनर बिचको विद्युत् खरिद बिक्री सम्झौता बमोजिम २७ मेगावाटको दोर्दी खोला जलविद्युत् आयोजनाको बिजुली सोही सबस्टेशनमा जोडिएको छ । लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित बिजुली प्रवाहका लागि निर्माण गरिएको दोर्दी कोरिडोर एक सय ३२ केभी डबल सर्किट प्रसारण लाइनलाई पनि सोही सबस्टेशनमा जोड्ने तयारी भएको छ ।
उदीपुर सबस्टेशन निर्माणमा केही समय लाग्ने देखिएपछि वैकल्पिक व्यवस्थामार्फत दोर्दीखोला जलविद्युत् र दोर्दी कोरिडोर प्रसारण लाइनबाट आएको बिजुलीलाई उदीपुर सबस्टेशनलाई बाइपास गरी मध्यमस्र्याङ्दी विद्युत् गृहको स्विच यार्डमा जोडिएको थियो । सबस्टेशन निर्माण सम्पन्न भएकाले अब दोर्दी कोरिडोर प्रसारण लाइनलाई सोही सबस्टेशनभित्र छिराएर मध्यमस्र्याङ्दीको स्विचयार्डतर्फ बिजुली प्रवाह हुने भएको छ । त्यसपछि मध्यमस्र्याङ्दी–मर्स्याङ्दी एक सय ३२ केभी प्रसारण लाइन हुँदै बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुनेछ ।
मर्स्याङ्दी र त्यसका सहायक नदीहरूबाट उत्पादन हुने बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाहका लागि मर्स्याङ्दी कोरिडोर दुई सय २० केभी प्रसारण लाइन आयोजना सुरु भएको हो । प्रसारण लाइनबाट झन्डै एक हजार ६ सय मेगावाट बिजुली प्रवाह गर्न सकिने प्राधिकरणले जनाएको छ ।