काठमाडौँ- सहकारी ठगि प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पोखराबाछ रूपन्देही लगिएको छ।
रुपन्देहीमा लैजाने भएपछि त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल वरपर नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
लामिछानेलाई बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा बयानका लागि रूपन्देही लगिएको हो ।
अहिले प्रहरीले विमानस्थल प्रवेशमा कडाइ गरेको छ ।
भैरहवाका ठाउँठाउँमा प्रहरी परिचालन गरिएको छ ।
प्रतिकूल मौसमका कारण विमानस्थल नखुल्दा पोखराबाट जहाज उड्न ढिला भएको थियो ।
पोखराबाट भैरहवा ल्याउन रविलाई बिहान ५ बजे नै पोखरा एयरपोर्ट लगिएको थियो । तर, जहाज उड्न नसकेपछि उहाँलाई पोखरा विमानस्थलमै केही घण्टा राखिएको थियो ।
बुटवलमा रहेको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको बचतकर्ताको बचत रकम तथा ऋण हिनामिना गरेको आरोपमा किटानी जाहेरी परेपछि प्रहरीले लामिछानेलाई रुपन्देही ल्याएको हो ।
कात्तिक ८ गते रुपन्देही जिल्ला अदालतले लामिछानेसहितका आरोपीलाई पक्राउ पुर्जी जारी गरेको थियो । कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका उहाँलाई त्यसै राति पोखरा लगिएको थियो ।