मङ्सिर १७, काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीसहितको नेपाली प्रतिनिधि मण्डल जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि चीनको बेइजिङ प्रस्थान गरेको छ ।
चीनका प्रधानमन्त्री ओली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओलीले यही मङ्सिर २० गतेसम्म चीनको औपचारिक भ्रमण गर्न लाग्नुभएको हो । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग बेइजिङमा भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यसैगरी प्रधानमन्त्री ओलीले आफ्ना चिनियाँ समकक्षी लीसँग भेटवार्ता गरी द्विपक्षीय आपसी हितका विविध विषयमा विचार आदानप्रदान गर्नु हुनेछ । प्रधानमन्त्री ओलीसँग चीनको राष्ट्रिय जनकांग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीको समेत भेट हुने तालिका छ ।
यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द गरिएको छ । प्रधानमन्त्री ओली आज बिहान ११ बजे निजी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सको जहाज लिएर चीनको औपचारिक भ्रमणमा जानु भएको हो ।
प्रधानमन्त्री चढेको जहाज उड्नुअघि २५ मिनेट र उडिसकेपछि ५ मिनेट गरी आधा घण्टा त्रिभुवन विमानस्थलमा अन्य जहाजका उडान–अवतरण नभएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार अहिले विमानस्थल सञ्चालन भई नियमित उडान भइरहेको छ ।