Spread the love
बैशाख २८ शुक्रबार

एमालेका हिक्मत कार्की प्रदेश सभाको यही कार्यकालमा तेस्रोपटक मुख्यमन्त्री बनेका छन् । एमाले–माओवादी गठबन्धनबाट प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो मुख्यमन्त्री बनेका कार्कीले पहिलोपटक ६ महिना सत्ता चलाए ।

तर, सत्तागठबन्धन परिवर्तन भएसँगै उनको सत्ता ढल्यो । तेस्रोपटक सर्वोच्चको परमादेशबाट मुख्यमन्त्री बनेका कार्कीले एक महिना पनि सत्ता चलाउन पाएनन् । फेरि सत्तागठबन्धन एमाले–माओवादीको हातमा गएसँगै उनी कोशीको नयाँ मुख्यमन्त्री बनेका छन् । अहिले माओवादी र एमालेसँग सुविधाजनक बहुमत छ ।

९२ सदस्यीय प्रदेश सभामा एमालेका ४० (एक उपसभामुखसहित) र माओवादीका १३ गरी ५३ सांसद छन् । जब कि ४७ जना भए सरकार बनाउन पर्याप्त हुन्छ । अब मुख्यमन्त्री कार्कीले एक महिनाभित्र विश्वासको मत लिनुपर्छ ।

तर, एक हप्ताभित्र सरकारलाई पूर्णता दिँदै विश्वासको मत लिने तयारी भएको नवनियुक्त मुख्यमन्त्री कार्कीले बताए । शपथग्रहणपछि सञ्चारकर्मीसँग उनले जनताका निराशालाई चिर्ने गरी काम गर्ने प्रतिक्रिया दिए ।

सानो आकारको मन्त्रिपरिषद्
नवनियुक्त मुख्यमन्त्री कार्कीले बिहीबार नै सानो आकारको मन्त्रिपरिषद् गठन गरेका छन् । एमालेबाट रामबहादुर मगर र माओवादीबाट गणेशप्रसाद उप्रेती विनाविभागीयमन्त्री बनेका हुन् । उनीहरूले पनि पद तथा गोपनीयताको शपथ लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
0
+1
0
+1
0
+1
0